सुरुङ्गा (झापा)- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोचेअनुसार देश विकास गर्न नसकिएको बताएका छन्।
हल्दिबारी गाउँपालिका–२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
संसद् विकास कोषको रकम रोकिएकाले संसद्को निर्वाचन क्षेत्रमा हुने विकास निर्माण गर्न नसकिएको उनको भनाइ थियो।
‘संसद विकास कोषको रकम रोकिएको छ। यसले निर्वाचन क्षेत्रमा सोचेजस्तो विकास गर्न असर परेको छ,’ सभामुखको भनाइ थियो। सरकारले बजेटमार्फत संसद विकास कोषका लागि प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोडका दरले रकम दिने घोषणा गरेको थियो। उक्त रकम व्यापक विवादित बनेको थियो।
विवादित बनेको उक्त रकमलाई जाजरकोट भूकम्प पीडितको राहत तथा पुनर्स्थापनाको काममा खर्च गर्ने सरकारले निर्णय गरेको छ। यसबाट पीडितको पुनर्स्थापनका लागि ८ अर्ब २५ करोड रुपैयाँको जोहो भएको छ। विवादित कोषको रकम पुनर्निर्माणमा खर्च गर्ने सरकारको निर्णयको स्वागत पनि भएको थियो।
सभामुख घिमिरेले भने सरकारको उक्त निर्णयप्रति झापा पुगेर असन्तुष्टि जनाएका हुन्। झापा-२ मा एमालेबाट प्रतिनिधि सभाको सांसद चुनिएका घिमिरे सभामुख निर्वाचित भएका हुन्।
केही उदासीनताका कारण देशमा सोचेअनुसार विकास गर्न नसकिएको उनको भनाइ थियो।
लक्ष्मीनारायण मन्दिरमा यही पुस १० गते आयोजना गरिने महायज्ञबाट सङ्कलित रकमले मन्दिर व्यवस्थापन तथा सामुदायिक भवन निर्माण गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।


