काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दामा अन्तिम फैसला बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सरकारी वकिलका तर्फबाट सुविर परियार र सीताराम अर्याल र पीडितको पक्षबाट अधिवक्ता आत्म आचार्यले पनि बहस गरे। लामिछानेका वकिलहरूले अझै बहस गर्न बाँकी छ।
मुद्दा माथिको बहस नसकिएपछि न्यायाधीश ढकालले सन्दीप विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन्।
यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेसी तोकिए पनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।
यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव घिमिरेले बहसको लिखित नोट मागेका थिए। शुक्रबारसम्म दुवै पक्षले बहस नोट बुझाएका थिए।
हेर्दाहेर्दैमा राखिएको मुद्दामा बुधबार फेरि बहस हुनेछ।
काठमाडौं जिल्ला अदालतमा यो मुद्दा १ वर्षभन्दा बढीदेखि विचाराधीन छ। मुद्दामा फैसलाका लागि पटकपटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।
नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरी मुद्दा दायर गरिएको थियो। १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई जबर्जस्ती करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो।
१७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक-पटक बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।
पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याई होटलमा राखेर बलात्कार गरेको अभियोग लगाएकी छन्।
पीडित किशोरीको बयानअनुसार २०७९ भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा उल्लेख छ।
सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको बयान छ।
उक्त घटनालगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।
प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो। मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो।
जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए।
यद्यपि, विदेश जान नपाउने उच्च अदालतको सीमा सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका सन्दीप सर्वोच्चको आदेशपछि क्रिकेट खेल्नका लागि विदेशसमेत पुगिसकेका छन्।


