काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्ने भएको छ। आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न बैठक बस्न लागेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
शुक्रबार बस्ने भनिएको बैठक तयारी नपुगेपछि रोकिएको थियो। विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिने नेकपा एसले जनाएको छ।
राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ।


