कञ्चनपुर- परराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीको रिहाइका लागि सहयोग गर्ने आश्वासन दिएको बताएका छन्। कतारले दोस्रो युद्धविरामका बेलामा ठोस पहल लिने आश्वासन दिएको मन्त्री साउदको भनाइ छ।
गाजा नजिकैको इजरायली क्षेत्रबाट गत अक्टोबर ७ मा हमास समूले अपहरण गरेको थियो। त्यसयता जोशी सम्पर्कविहीन छन्।
कृष्णपुर नगरपालिकास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता उद्घाटन समारोह (कञ्चनपुर)मा सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन्।
‘विपिन जोशीको रिहाइका लागि निरन्तर कतार सरकारसँग कुरा भइरहेको छ’ मन्त्री साउदले भने, ‘दोस्रो युद्धविरामका लागि गृहकार्य भइरहेको छ। दोस्रो युद्धविराममा विपिनको रिहाइका लागि ठोस पहल गर्ने आश्वासन कतार सरकारले दिएको छ।’
यसअघि मंसिर पहिलो साताको युद्धविरामका क्रममा विपिनको रिहाइको अपेक्षा गरिएको थियो।
हमासले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति गरेको थियो। तर त्योभन्दा बढी संख्यामा रिहाइ गरे पनि विपिन रिहाइ भएका थिएनन्।


