काठमाडौं– एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले मंगलबार (पुष २४)देखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ।
यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्छन्। यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ।
बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ। एनसेल सापटी मार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुन्छ।
यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट संचालनमा ल्याइएको थियो। अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ग्राहकहरुलाई ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ।


