काठमाडौँ- विलासी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध र रेमिट्यान्स आप्रवाहमा वृद्धि हुँदा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार भएको तथ्याङ्क राष्ट्र बैंकले प्रस्तुत गरेको छ। फागुन समान्तसम्म देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकले बाह्य क्षेत्र दबाबमुलुक स्थितिबाट बाहिर आएको बताएको हो।
गत आर्थिक वर्षमा १९ खर्ब २० अर्ब बराबरको आयात हुँदा चालु खाता घाटा बढेर ६ अर्ब २३ अर्ब पुगेको र रेमिट्यासन्सको वृद्धिदर कम हुँदा शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब घाटामा पुग्दा विदेशी मुद्राको सञ्चितिमा ठूलो दबाब परेको थियो। गत असार मसान्तमा करिब ९ अर्ब ५४ करोड डलर मात्रै सञ्चिति राष्ट्र बैंकसँग थियो। विगत ८ महिनामा उक्त सञ्चिति १ अर्ब १५ करोड डलरले बढेर १० अर्ब ६९ करोड डलर कायम भएको छ। यस्तो सञ्चितिको वृद्धिदर १२.१ प्रतिशतले बढेको हो।
गत वर्षको अन्त्यमा नेपालको सञ्चिति नेपाली मुद्रामा १२ खर्ब १५ अर्ब ८० करोड थियो। अहिले १ खर्ब ८५ अर्ब ४१ करोड रुपैयाँले बढेर १४ खर्ब १ अर्ब २१ करोड कायम भएको राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले जानकारी दिए।
कुल सञ्चितिमध्ये राष्ट्र बैंकसँग रहेको सञ्चिति १७.८ प्रतिशतले बढेर १२ खर्ब ४५ अर्ब र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा २० प्रतिशतले कमी आई १ खर्ब ५६ अर्ब २७ करोड कायम भएको छ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो। कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
उक्त सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने बताइएको छ। चालु आर्थिक वर्षको ८ महिनामा चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा यस्तो घाटा ४ खर्ब ६० अर्ब रहेको थियो।
यस अवधिमा पुँजीगत ट्रान्सफर २०.३ प्रतिशले कमी आई ५ अर्ब ५८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड प्राप्त भएको छ।
विश्व बजारमा पेट्रोलिय पदार्थको मूल्यमा आएको ३०.५ प्रतिशतको गिरावटले पनि सञ्चिति सुधार गर्न मद्दत गरेको देखिन्छ। गत फागुन मसान्तसम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ११०.३९ डलर प्रतिव्यारेल रहेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा घटेर ७६.७७ डलर प्रतिव्यारेल कायम भएको छ। सुनको मूल्यमा पनि प्रति आउन्स २.४ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा नेपाली मुद्रा १ अमेरिकी डलर बराबर २.७४ प्रतिशतले अवमूल्यन भएको छ।
आयातमा लगाइएको प्रतिबन्ध हटिसकेको र आयात गर्ने क्रम बढेकाले सञ्चितिको वृद्धिदरमा भने अब विस्तारै कमी आउने आकलन राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठको छ।
‘गत आर्थिक वर्ष आयातमा गरिएको कडाईका कारण नेपालको विदेशी मुद्राको सञ्चितिको वृद्धिदर बढेको थियो। माघ र फागुनको सञ्चिति पर्याप्त हेर्दा त्यसले प्रष्ट संकेत गरेको छ। दुवै महिनाको सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा आयात हुने देखिन्छ। तर, हामीले आयातमाथिको प्रतिबन्ध पूर्ण रुपमा हटाइसकेकाले आयात हुने क्रम बढेको छ। अब सञ्चितिको वृद्धिदर उच्चतम बिन्दुमा पुगेर घट्नेक्रम सुरु हुन्छ’, डा श्रेष्ठले भने।
राष्ट्र बैंकले ७ महिनाको वस्तु तथा सेवा धान्ने सञ्चितिलाई आदर्श सञ्चिति मान्ने गरेको समेत उनले बताए। सञ्चितिमा सुधार भएकाले अब विस्तारै तरलता सहज हुँदै गएको समेत उनले बताए। ब्याजदर निर्धारणमा राष्ट्र बैंकको कुनै भूमिका नहुने र बजारमा हुने माग र आपुर्तिको आधारमा हुने उनले बताए। तरलता सहज र कर्जाको माग कम भएको अवस्थामा ब्याजदर घट्ने तथा तरलता कमी आएको र कर्जाको माग उच्च भएका बेला ब्याजदर बढ्ने श्रेष्ठले बताएका छन्।
