काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरेको कार्यक्रमप्रति व्यंग्य गरेका छन्। एउटै आयोजनाको एउटै काम पटकपटक गरेर राजनीतिक स्टन्ट मात्र गरेको बालेनको टिप्पणी छ।
‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर,’ बालेनले फेसबुकमा लेखेका छन्।
राजनैतिक स्टन्टका लागि मेलम्चीको पानी काठमाडौँ ल्याउने उदघाटन गर्दै झुक्याउने सिलसिलाको कडी मात्रै भएको बालेनको भनाइ छ। २०७७ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौ झार्ने कीर्तिमानका लागि उदघाटन गरेको तर प्राविधिक पक्षलाई बेवास्ता गरेको भन्दै बालेनले त्यसपछि पनि उद्घाटनको सिलसिला नै चलेको टिप्पणी गरेका छन्।
२०७७ चैत्रमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौँको धारामा खसाल्दै उद्घाटन गरेकी थिइन्। यस्तै २०७९ वैशाखमा तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी पनि यही कार्यक्रम गरेका थिए। यस्तै २०७९ मंसिरमा तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी फेरि उद्घाटन गरे। २०८० माघ १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः उद्घाटन गरेका छन्।
‘विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो,’ उनले लेखेका छन्, ‘व्यक्तिगत किर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उदघाटन गर्ने कुप्रथाको सुरूवात भयो । त्यसकै सिलसिलाको नयाँ संस्करणको उदघाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो। बिडम्बना! अहिले पनि प्राबिधिक जोखिमलाई नजरअन्दाज गरिएको छ।’


