काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा वैकुण्ड अर्याललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्।
प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
प्रधानमन्त्री दाहालले प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीररुपमा लिन निर्देशन गरेका थिए।
यसअघि प्रतिष्ठानको समस्या समाधान गर्न धरान नगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाएका थिए।
पत्र पठाउनुअघि साम्पाङ आफैँ पुगेर प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा तालाबान्दी गरेका थिए।
पटकपटक सम्पर्कको प्रयास गर्दा पनि प्रतिष्ठानका उपकुलपति प्रा डा प्रह्लाद कार्की सम्पर्कमा नआएकाले कार्यकक्षमा तालाबन्दी गर्नुपरेको साम्पाङले फेसबुकमा लेखेका थिए।
