पोखरा- टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा भएको चौथो टाइगर कप (पुरुष)को उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ।
शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपालले घरेलु टोली गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो।
हेल्प नेपालले पहिलो र दोस्रो सेटमा क्रमश: २५–१३ र २५–१८ ले जित्यो। तेस्रो सेट गण्डकीले २५–२३ ले जितेर पुनरागमन आशा जीवित राखे पनि चौंथो सेट पुन: हेल्प नेपालले २५–१७ ले जित्यो।
पहिलो पटक उपाधि जितेको हेल्प नेपालले ३ जना पाकिस्तानका राष्ट्रिय खेलाडी समावेश गरेको थियो। हेल्प नेपालले उपाधिसँगै ५ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ।
त्यस्तै, उपविजेता बनेको गण्डकी प्रदेशले २ लाख ५५ हजार ५५५ रुपैयाँ पाएको छ। गण्डकी प्रदेशले ३ जना भारतीय खेलाडी सहभागी गराएको थियो।
यसअघि शनिबार नै भएको महिलातर्फको फाइनल खेलमा विभागीय टिम एपीएफले जित्दै उपाधिमा ह्याट्रिक गरेको छ।एपीएफले न्यूडायमन्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो पटक विजेता बनेको हो।
