काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनको लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो।
मतदान सम्पन्न नभएसम्म मौन अवधि रहिरहनेछ। राष्ट्रिय सभा सदस्यका लागि मतदान यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
६ बर्से कार्यकाल सकेर रिक्त हुन लागेका १९ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो। २० जनाको कार्यकाल सकिए पनि एक जना भने राष्ट्रपतिबाट मनोनीत हुनेछन्।
यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ।
यसपालिको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका दलले साझा उम्मेदवारी दिएका छन् भने एमालेले सबै सिटका लागि उम्मेदवारी दर्ता गराएको छ।


