काठमाडौँ- माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि कोशीमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धन गरेका छन्।
कोशी प्रदेश एमालेका अध्यक्ष घनश्याम खतिवडा र कोशी प्रदेश राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रामकुमार थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
एमालेकी उम्मेदवार रूक्मिणी कोइराला र राप्रपा उम्मेदवार उद्धव पौडेललाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको हो।
योसँगै कोशीमा एमालेले अन्यतर्फ उम्मेदवार बनाएका भोजपुरका परशुराम अधिकारी पछि हटेका छन्।
कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार छन्।
राप्रपा र एमालेबीच साझेदारी भएपनि गठबन्धन एकजुट रहेसम्म गठबन्धनका उम्मेदवारलाई पराजित गर्न चुनौती छ।
कोशीमा सत्ता गठबन्धनसँग ५ हजार ४७४ मतभार छ भने बाँकी दलसँग ४ हजार ६६१ छ।


