काठमाडौं- जनमत पार्टीले मधेस सरकारबाट बाहिरिने निर्णय गरेको छ। मधेस सरकारमा शिक्षा र श्रम मन्त्रालय लिएर सहभागि भएको जनमतले सरकार छाड्ने निर्णय गरेको हो।
सिके राउत नेतृत्वको जनमतका महासचिवसमेत रहेका मन्त्री चन्दन सिंह सरकार छाड्ने निर्णय भएको बताए। उनका अनुसार केहीबेरमा जनमतका मन्त्रीले राजीनामा बुझाउनेछन्।
केन्द्र सरकारबारे भने निर्णय लिइनसकेको उनको भनाइ छ। पछिल्लो समय सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ। राष्ट्रिय सभा चुनावमा भएको भागवण्डा प्रति जनमतले असन्तुष्ट छ। जनमतले मधेश र लुम्बिनीमा राष्ट्रिय सभामा पार्टीका तर्फबाट उम्मेदवारसमेत खडा गरेको छ।
यस्तै मधेसमा जनमत र जसपाबीच तिक्तता बढ्दै गएको छ। सोमबार सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा जनमत रुष्ट बनेको थियो। प्रहरीसँगको झडपमा शिक्षा मन्त्री मधेसप्रसाद यादव घाइते बनेका थिए।


