काठमाडाैँ- राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ। सातै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा ४ पदका लागि मतदान भइरहेको छ। कर्णालीमा पनि बिहान ९ बजेदेखि नै मतदान सुरु भएको हो।
यसैगरी प्रदेशका उधोग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेर सुदूरपश्चिममा मतदान सुरु गरेका हुन्।
पहिलो मतदान प्रदेश सभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्थानीय तहतर्फ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मतदान गरेर लुम्बिनी प्रदेशको मतदान सुरु भएको हो।
यसैगरी अन्य प्रदेशमा पनि अहिले मतदान जारी रहेको छ। राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो। एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।
निर्वाचनमा ८ राजनीतिक दलका ५१ जना उम्मेदवार छन्। कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६ ६ जना उम्मेदवार छन्। सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन्।


