रोल्पा- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेसले पटकपटक धोका दिँदै आएको र यस विषयमा गठबन्धनमा गम्भीर समीक्षा हुने बताएका छन्।कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण कार्यक्रममा पुनले कांग्रेसले माओवादीबाट विश्वास गुमाएको पनि टिप्पणी गरे। ‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ। कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,’ पुनले भने, ‘कांग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ? हामी हरेक चुनावमा इमान्दार कांग्रेसलाई मत दिइराख्ने, अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ?’
एमालेसँगको गठजोडमा कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनको भनाइ थियो। ‘दुई वर्षअघि पनि राष्ट्रियसभामा जसपा उम्मेदवारलाई हराउने काम कांग्रेसबाट कोशीमै भयो। केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा पनि त्यही प्रवृत्ति देखियो’, पुनले भने, ‘कांग्रसले एकपछि अर्को गर्दै घात गर्ने र हामीभित्र समस्या छ भनेर माफी पाउने अवस्था रहँदैन।’
पुनले आफूभित्रको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न कांग्रेस नेतृत्वसँग माग गरे। यस्तै काँग्रसबाट कोशीमा भएको धोकाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुने उनको भनाइ छ।
बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो। सिटौला विजयी भएपनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्।


