काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि आक्रमण हुँदा माओवादीका कार्यकर्ताले प्रतिकार नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। शनिबार सहिद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उनी कार्यकर्तामाथि खनिएका हुन्।
माओवादी जनयुद्धमा ज्यान गुमाउनेहरुको अपमान हुँदा पनि कार्यकर्ताहरु टुलुटुलु हेरेर बसेको भन्दै असन्तुष्टि राखे। सशस्त्र युद्धमा माओवादीले १७ हजार मानिस मारेको भाष्य बनाउन खोजिएको भन्दै उनले उक्त आरोप झुटो भएको जिकिर गरे।

‘१७ हजार प्लस दुई भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको हुन्छ, तर तपाईं हामीलाई प्रतिवाद गर्ने जाँगर पनि छैन, न लेख्ने न बोल्ने,’ प्रचण्डले भने, ‘हिजो भए हामी सहन्थ्यौं त, के गर्थ्यौं, हामीले कस्तो प्रतिवाद गर्थ्यौं, कसरी गर्थ्यौं?’
गत महिना ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवक मृत्यु भएको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको विरोध प्रदर्शनमा सांसद डा. तोसिमा कार्कीले ‘१७ + २’ लेखिएको प्लेकार्ड बोकेकी थिइन्।

प्रधानमन्त्री प्रचण्डले सहिदलाई अपमान गर्दा मुठ्ठी उठाएर अघि बढ्न के ले रोक्यो भन्दै कार्यकर्तालाई प्रश्न गरेका थिए।
‘हाम्रा महान राष्ट्रिय शहीदहरुलाई अपमान गरेको सहन सक्दैनौं भनेर मुठ्ठी उठाएर अगाडि बढ्न हामीलाई केले रोक्या होला, किन जोश आइरहेको छैन हामीलाई?’ प्रचण्डले भने, ‘हामी हाम्रो उद्देश्यप्रति धेरै नै उदासीन भइरहेका छौं।’


