काठमाडौँ- सूर्यदर्शन सहकारीका थप दुई जना पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको छ।
बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको हो।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो।
यसअघि शुक्रबार मात्र मुख्यआरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो।
सूर्यदर्शन सहकारीसँग जोडिएको ठगीसम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले दुई साताअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो।
त्यसको आधारमा इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई पत्र पठाएको थियो।
डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्रका मुलुकका प्रहरीले पक्राउ परी नेपाल प्रहरीलाई हस्तान्तरण गर्छ।


