काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटमा शान्ति प्रकियाका टुंगिन बाँकी काम बारे छलफल भएको छ।
भेटपछि ओलीले शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको बताए।‘खास यो विधेयकमा छलफल भइरहेको छ समितिमा, त्यसलाई राम्ररी मिलाएर छिटै टुंग्याऔं भन्ने विषयमा छलफल भयो,’ उनले भने।
संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमाथि छलफल हुँदै आएको छ।
मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बिट्ररी) गरिएको हत्या/दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा सहमति जुट्न सकेकाे छैन।


