काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावको समिक्षा गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकमा कांग्रेसले चुनावबारे समिक्ष गरेको हो।
कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशलाई अनपेक्षित भएको निष्कर्ष निकालेको छ। माघ ११ गते भएको चुनावमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएकी थिइन्। बैठकले सत्ता गठबन्धनका विजयी १८ जनालाई बधाई दिने निर्णयसमेत गरेको छ।
सत्ता गठबन्धनका दलहरूसँग तालमेल गरी चुनावमा गएको कांग्रेसबाट १० जना राष्ट्रिय सभा सदस्य चुनिएका थिए। प्रमुख सचेतक रमेश लेखकले कोशीमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार एक जना पराजित हुनुलाई अनपेक्षित परिणाम रहेको निष्कर्ष निकालिएको बताए।
साथै माघ २२ गतेदेखि संघीय संसदका दुवै सदनको बैठक सुरू हुने भएकोले प्रभावकारी भूमिका खेल्ने विषयमा पनि छलफल गरिएको उनले बताए।


