काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले विकास आयोजनामा दबाबयात्रा सुरु गरेको छ। आइतबार सभापति रवि लामिछानेसहितका नेताकार्यकर्ताले दबाबायात्रा सुरु गरेका हुन्।
दबाब अभियान सञ्चालन गरेपछि ती आयोजना निर्माण गर्ने उपायसहित समाधानपत्र सरकारलाई बुझाउने सभापति लामिछानेले बताएका छन्।
दबाबयात्रामा पार्टीको भौतिक पूर्वाधार विकासका सदस्य र स्वतन्त्र विज्ञहरु पनि सहभागी हुने र अन्तिममा ती आयोजना कसरी निर्माण हुन सक्छ भन्ने विषयमा समाधान पत्र सरकारलाई बुझाउने लामिछानेको भनाइ छ।
‘ज्ञापनपत्र बुझाएर ङिच्च हास्ने काम गर्दैनौँ, समाधानपत्र दिन्छौं’, उनले भने।
२१ विकास आयोजनामा पार्टीका सांसदको नेतृत्वमा दबाब अभियान सञ्चालन गर्ने र सरकारलाई समाधानपत्र बुझाउने उनको भनाइ थियो।
उनले विकास आयोजना तोकिएको लागत र समयमा पूरा हुनैपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै उनले रास्वपा दबाबयात्राले त्यसको कारण खोजी गर्ने बताएको हो।
मेलम्ची आयोजनाको दबाब अभियानमा रास्वपा सभापति लामिछानेको नेतृत्वको टोली आइतबार सिन्धुपाल्चोकतर्फ जाँदैछ। उनीहरु गाग्रीसहित मेलम्चीको मुहानतर्फ जाँदैछन्।
सभापति लामिछानेले मेलम्चीमा अहिलेसम्म ६२ अर्ब रुपैयाँ खर्च गर्दा पनि अझै काठमाडाैंमा पानी आउने निश्चित नभएको बताए।
२१ वटा आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि देशका अन्य आयोजनाहरुमा पनि दबाब दिइने उनले बताए।
आफूहरुले अलपत्र परेका विकास आयोजनामा दबाब अभियान सञ्चालन गर्दा राजनीति र कुटनीतिक क्षेत्रको चासो देखिएको लामिछानेको दाबी छ।
‘राजनीति कुटनीतिसँग केही सरोकार छैन, नेपाली जनता हिँड्ने बाटो राम्रो हुनुप¥यो, एउटा बाटोका लागि एक युग पर्खिन सकिँदैन,’ उनले भने।


