काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू आदिवासी जनजाति समुदायको राजनीतिक अभिभावक भएको दाबी गरेका छन्।
आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले घुमाउरो भाषामा आदिवासी जनजातिको राजनीतिक अभिभावक आफू र आफू नेतृत्वको माओवादी केन्द्र भएको जिकिर गरेका हुन्।
उनले आदिवासी जनजातिले आफ्नो राजनीतिक अभिभाव (आफू)लाई बिर्सिएको समेत गुनासो गरेका थिए। आफू कमजोर भए परिवर्तनका मुद्दामाथि प्रतिगामी शक्तिहरूबाट बारम्बार हमला हुने उनको भनाइ थियो। आफूलाई जनजाति र आदिवासीले समर्थन गरेर बलियो बनाउन पनि प्रचण्ढले आग्रह गरेका थिए।
आदिवासी र जनजातिले आफ्नो राजनीतिक नेतृत्व चिन्न नसके प्राप्त अधिकार रक्षा गर्न कठिन हुने पनि अभिव्यक्ति पनि राखे।
‘जुन राजनीतिक शक्ति र नेतृत्वले पहिचान र अधिकारको मुद्दा उठायो, त्यसका पक्षमा दृढथतापूर्वक सङ्घर्ष गर्यो, निकै ठूलो वैचारिक बहस र कानुनी लडाइँमा विजय हासिल गरेर ती अधिकारहरू संविधानमा लिपिवद्ध गर्यो, त्यो शक्ति र नेतृत्वलाई चिन्न सकिएन भने प्राप्त अधिकार रक्षामा प्रश्न खडा हुन्छ,’ उनको भनाइ थियो।
इतिहासका अनुभवले क्रान्ति र परिवर्तनको नेतृत्व गर्ने शक्ति र नेतृत्वको रक्षा गर्न सकिएन र विचार, राजनीति र सङ्गठनमा उसको वरिपरि गोलबन्द सकिएन भने प्रतिक्रान्तिकारी शक्तिले टाउको उठाउने भएकाले त्यसतर्फ ध्यान दिन प्रधानमन्त्रीको आग्रह छ।
प्रधानमन्त्री प्रचण्डले राजनीतिक रूपमा पहिचान र अधिकार नरूचाउने शक्तिहरूमा आवद्ध हुने तर अधिकारको माग परिवर्तनकारी शक्तिसँग गर्ने विरोधाभासबाट माथि उठ्न सल्लाह दिए।
स–साना स्वार्थहरू त्यागेर बृहत्तर हितका पक्षमा संगठित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आदिवासी जनजातिहरूको बृहत एकता र सही नीति, विचार र नेतृत्व छनोट गर्नपर्ने बताए।
संसद् र नीति निर्माणको तहमा परिवर्तनकारी शक्ति कमजोर हुँदा परिवर्तनका मुद्दामाथि प्रतिगामी शक्तिहरूबाट बारम्बार हमला हुने भएकाले त्यसतर्फ सचेत रहन प्रधानमन्त्रीको आग्रह थियो।
