काठमाडौँ- आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ।
संसद् सचिवालयले सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरेको छ। सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वान बारे पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन रहेकाे छ।
बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ। बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने कार्यसूची रहेकाे छ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्नेछन्।



