काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सरकार विस्तारको तयारीमा जुटेका छन्। उनले सम्भवतः आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। उनले चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
स्रोतका अनुसार कांग्रेसबाट प्रदीपकुमार सुनुवार मन्त्री बन्ने भएका छन्। उनी संस्थापन समूहका हुन्। यस्तै शेखर कोइराला समूहबाट रामकुमार खत्री मन्त्री बन्ने लगभग तय भएको बताइएको छ। शेखर समूहले इन्दिरा थापालाई राज्यमन्त्री बनाउने तयारी गरेको छ।
माओवादीबाट दुई जना मन्त्री बन्ने भएका छन्। उदयपुरका नारायण बुर्जामगर मन्त्री बन्ने तय भएको छ। माओवादी केन्द्रले संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र कार्कीलाई पनि सरकारमा पठाउने निर्णय गरेको बताइएको छ। अहिले माओवादीबाट गणेश उप्रेती पर्यटन मन्त्री छन्।
सत्तारुढ गठबन्धनको निर्णय विरुद्ध विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा कार्की असोज २७ गते मुख्यमन्त्री बनेका थिए।


