काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ। उनको उपचारको क्रममा गए राति ११ः३० बजे निधन भएको हो।
लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित ८० वर्षका नेता बुढाथोकीको पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए। सेतो बाघ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए।
नेता बुढाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भई जनतामाझ लोकप्रिय थिए।
२ छोरा १ छोरी रहेका बुढाथोकीको पार्थिव शरीरलाई आजै जिल्ला पार्टी कार्यालय झापामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमगाईले जानकारी दिए।


