काठमाडौँ- नेपाली कांग्रेसल समुदायमा कांग्रेस अभियानका कार्यक्रम स्थगित गरेको छ।
माघ १३ गतेदेखि २६ गतेसम्म सञ्चालन गर्ने भनिएको अभियानका कार्यक्रम स्थगित गरिएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ,’ मंगलबार कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको निधनका कारण अभियानका कार्यक्रम स्थगित गरिएको हो।

माघ २२ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा बुढाथोकीको निधन भएको थियो। उनी प्रोस्टेट क्यान्सर पीडितबाट पीडित भएको अस्पताल स्रोतको भनाइ छ।
उनीप्रति सम्मान प्रकट गर्दै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको जानकारी कांग्रेसले दिएको छ। उनको निधनबाट पार्टीलाई क्षति पुगेको कांग्रेसको भनाइ छ।
झापा कांग्रेसमा प्रभावशालीमध्ये एक मानिने बुढाथोकी झापाकै अर्का कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग राजनीतिक रूपमा निकट सम्बन्ध भने बन्न सकेन।
झापामा ‘सेतो बाघ’ उपनामले परिचित बुढाथोकी कांग्रेसभित्र हक्की स्वभावका नेताको रूपमा चिनिन्थे। बुढाथोकी चार दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय थिए। पञ्चायतकाल अर्थात् २०२४ सालमा विद्यार्थी आन्दोलनमार्फत् राजनीतिमा उदाएका थिए। पञ्चायत सत्ताको विरोध गरेका कारण उनको परिवार निर्वासनमा परेको थियो।
बुढाथाेकी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा ९ महिना जेल परेका थिए। कुनै समयका पञ्चायतविरोधी उनी कालान्तरमा पञ्चायतका पक्षपाती नै बने। पञ्चायत निकट युवक संगठनको झापा जिल्ला सभापति मात्रै बनेनन्, राष्ट्रिय पञ्चायत सदस्यको रूपमा समेत विजयी भए।
पन्ध्र दिनअघि मात्र झापाको अर्जुनधारा नगरपालिकाको एउटा सामुदायिक विद्यालयमा आयोजित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै बुढाथोकी नेपालमा खेलकुद क्षेत्रलाई बलियो बनाउन आफूले गरेका संघर्षका कुरा सुनाएका थिए।


