काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताएकी छन्। कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान)ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’को आज उद्घाटन गर्दै उहाँले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताइन्।
सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरुप लिने बताइन्। सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्रमुख कार्यभारका रूपमा अघि बढाएको भन्दै उनले १६औँ आवधिक योजनामा सूचना प्रविधिलाई प्राथमिकतामा राखिएको बताइन्।
सूचना प्रविधिसम्बन्धी रुपान्तरणकारी आयोजना सञ्चालन गरी मुलुकको अर्थतन्त्र सबल बनाउँदै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले अब श्रमिक नभई सेवा निर्यात गर्ने मुलुकका रूपमा विकास गरिनुपर्ने बताइन्। ‘सूचना प्रविधिको विकासमार्फत सेवा विकास गर्न सकिन्छ, यसबाट रोजगारी सिर्जना हुन्छ,’ उनले भने, ‘बढ्दो विदेश पलायनलाई पनि रोक्न सकिन्छ।’
मन्त्री शर्माले क्यान महासङ्घलाई आफ्नो सेवा क्षेत्रको दायरा विस्तार गर्न आग्रह गर्दै सरकारी र निजी क्षेत्रको सहकार्यबाटै सूचना प्रविधि क्षेत्रको विकास गर्न सकिने बताइन्। ‘अबको लगानी सूचना प्रविधि क्षेत्रमा हुनुपर्छ, सूचना प्रविधिको क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिन्छ,’ उनले भनिन्।
