काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रवर्द्धन गरिने बताएका छन्। बिहीबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले यस्तो बताएका हुन्।
ठूला उद्योगी हावी नहुने गरी साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री बढाउने व्यवस्था मिलाइने मन्त्री रिजालले बताएका थिए। घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरिने उनको भनाइ छ।
‘राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री ब्रान्डिङका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ,’ मन्त्री रिजालले थपे, ‘मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको छ।’
छलफलमा अर्थमन्त्री डा. प्रकाश शरण महत र कानुन मन्त्री धनराज गुरुङको समेत उपस्थिति रहेको थियो। छलफलमा बोल्दै अर्थमन्त्री महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पुर्याइने बताए। कानुनमन्त्री गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्री विस्तारका लागि कानुनप्रति संवेदनशील हुनु पर्ने बताए।
छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थिति रहेको थियो।
त्यस्तै, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, वाणिज्य तथा आपूर्ती सचिव नारायणप्रसाद दुवाडी तथा प्रदेशका मूख्य सचिवहरुको उपस्थिति रहेको थियो।


