काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेताहरुका लम्बेतान भाषण शैलीप्रति असन्तुष्ट देखिएका छन्। शुक्रबार कांग्रेस काठमाडौंको जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा देउवा नेताहरुका लामा भाषण सुनेर दिक्क भएका हुन्।
सम्मेलनमा जिल्लादेखि केन्द्रीय सदस्य र पदाधिकारीहरूले बोलिसकेपछि बोलेका देउवाले लामो भाषण गर्ने नेताहरु माथि व्यंग्य कसे। काठमाडौं सभापति कृष्ण बानियाँ (सबुज)लाई टिकट नदिएको भन्दै अधिकांश वक्ताले गरेको आलोचना सुनेका देउवाले लामो भाषण गरेर कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यंग्य गरेका हुन्।
‘मान्छे बोल्दाबोल्दा हल नै खाली भइसक्या हुन्छ, माइक लिने एक जना बसेको हुन्छ। हाम्रा साथीहरूको पनि सबैलाई लामो समय बोल्नुपर्नेछ। पूरा कुरा सुनाउनै पर्यो के गर्ने। कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ, केही छैन त्यो,’ उनले भने।
उनले काठमाडौं सभापति बानियाँलाई टिकट नदिएको भनेर गरिएको आलोचनाको पनि जवाफ दिए। उनले हाँस्दै भने, ‘एउटा कुरा सबैलाई चित्त दुखेछ, बानियाँलाई टिकट दिएन भनेर क्या! कुरा सुन्नुस् है, अब टिकट पायो भने जिताउनुहोला है। उहाँले टिकट पाउँदा हराउनुभयो भने नि! तपाईंहरू जिताउनु लाग्नुस्। उहाँलाई जिताएर छाड्नुस् म तपाईंहरूलाई धन्यवाद दिनेछु।’


