काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा एक्लै लड्न सक्ने गरी पार्टी संगठन निर्माण गर्न सर्कुलर गरेका छन्। अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै अध्यक्ष नेपालले सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढिभन्दा बढी सदस्यता विस्तार गर्नु आवश्यक भएको उल्लेख गरेका छन्।
‘आगामी निर्वाचनहरुमा एक्लै लड्न सक्ने एउटा क्रान्तिकारी पार्टी सङ्गठनको निर्माणको आवश्यकताबारे हामीले धेरै पटक चर्चा गरेका छौँ,’ अध्यक्ष नेपालले अपानीमा मनेका छन्, ‘त्यसका लागि सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढिभन्दा बढी सदस्यता विस्तार गर्नु आवश्यक छ। यस अभियानले त्यस आवश्यकतालाई सम्बोधन गर्नेछ।’
यो अभियानमा पार्टीका सबै तहका कमिटीहरु परिचालित गरे लक्ष्यित परिणाम हासिल गर्न सकिने उनको भनाइ छ। मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठुलो चुनौती रहेको उल्लेख गर्दै एउटा क्रान्तिकारी बलियो पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने अपानीमा उल्लेख गरेका छन्।
अपानीमा भनेका छन्, ‘हाम्रो पार्टीले मुलुकको राजनीतिमा असाधारण भूमिका खेल्नु पर्ने छ। आगामी महाधिवेशन वैचारिक, सैदान्तिक, राजनीतिक तथा सङ्गठनिक दिशामा नयाँ उँचाई प्राप्त गर्नका लागि सबैमा महत्वपूर्ण अवसर हुनेछ। अर्थात् महाधिवेशनको सफलताले हाम्रो पार्टीको भविष्य, वाम आन्दोलनको भविष्य र नेपाली राजनीतिकै भविष्यमा योगदान गर्नेछ। ती चुनौतिकको सामना गर्न र सम्भावनालाई यथार्थमा परिणत गर्न सम्पूर्ण सामर्थ्यका साथ अघि बढौँ।’
