काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले रोजगारीका अवसर सिर्जना गर्न उद्योग विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको औँल्याएका छन्। भिडियो सन्देशमार्फत नयाँ वर्ष २०८० को शुभकामना दिँदै मन्त्री रिजालले त्यसका लागि आफूले काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
‘रोजगरीका अवसर सिर्जना गर्नु र उद्योगको विकास गर्नु अहिलेको आवश्यकता हो,’ उनको सन्देशमा भनिएको छ।
संविधान र लोकतन्त्रको रक्षाका लागि जनताले लोकतान्त्रिक-वाम गठबन्धनलाई अभिभार दिएको बताएका उनले यही गठबन्धनले मुलुकको विकास गर्ने अभिभारा बोकेको पनि उल्लेख गरेका छन्।
विश्वव्यापी आर्थिक संकटको असर नेपालमा पनि परेको उल्लेख गर्दै उनले त्यसको असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य गरिने उल्लेख गरेका छन्। जनजीवन सहज बनाउन आफू क्रियाशील रहेको उनको शुभकामना सन्देशमा भनिएको छ।
