गोदार (धनुषा)- सिरहाको सिरहा नगरपालिका-१९ का मुगालाल यादव ९२ वर्षका भए। उनीले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आएका थिए। तर यतिका वर्षसम्म पनि मोटर गुड्ने पक्की पुल बनेको छैन। त्यही छेउमा अहिले भने झोलुङ्गे पुल बनेको छ।
शनिबार त्यही पुल हेर्न आएका ९१ वर्षीय यादव जीवनको उत्तरार्द्धमा कमला नदीमाथि झोलुङ्गे पुल देख्दा दङ्ग छन्। खुसी हुँदै उनले भने, ‘झोलुङ्गे पुल भए पनि वर्षौंपछिको सपना पूरा भएको छ। अब जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।’
यादवले कमला नदीमा पुल नहुँदा आफ्नो पुस्ताले भोगेको सास्तीबाट नयाँ पुस्ताले मुक्ति पाएको देखेर निकै हर्षित भएको सुनाए। ‘सिरहा घर भए पनि ससुराली, मावली, दिदीबहिनी, फुपू, इष्टमित्रहरुको सिमापारी धनुषामै छ।
अहिलेसम्म हत्केलामा ज्यान राखेर ओहोरदोहोर गर्नुपर्थ्यो।। झोलुङ्गे पुलले वर्षौदेखिको त्यो समस्या समाधान गरेको देख्दा निकै रमाइलो पनि लागिरहेको छ’, यादवले खुसी व्यक्त गरे। नदीले वारि र पारि बनाएका मनहरुलाई पुलले भौतिकरुपमै जोडेको उनीको भनाइ छ।
उनी मात्रै होइन, सिरहा नगरपालिका–१३ का महावीर ठाकुर पनि निकै प्रफुल्ल थिए। स्वास्थ्य समस्या र विपत्तीकाबेला सहजरूपमा अस्पताल जान सजिलो हुने भन्दै उनी खुसी छन्।
‘पुल नहुँदा वर्षायामको समयमा धेरै समस्या थियो। जोखिम मोलेर डुङ्गाबाट ओहोरदोहोर गर्दा पनि समस्या थियो। त्यही डुङ्गाबाट जाँदा दर्जनौँ नागरिकले ज्यान गुमाइसकेका छन्। अब भने सहज हुने भयो। निकै खुसी लागिरहेको छ,’ उनले भने।
जनकनन्दनी गाउँपालिका–४ खजुरीका रमेश साह मोटरसाइकलमा झोलुङ्गे पुल हुँदै वारपार गर्न पाउँदा अहिलेसम्म पाएका सबै दुःख बिर्सिएको बताउँछन्। ‘कमला नदीमाथिको पक्की पुलबाट कहिले वारपार गर्न पाइने हो टुङ्गो नै छैन। तर झोलुङ्गे पुलबाट यति चाँडै आउजाउ गर्न पाउँदा पहिले भोगेका सास्ती सबै भुलाएको छ’, साहले खुसी हुँदै भने।
धनुषा र सिरहा सीमानामा पर्ने कमला नदीमा झोलुङ्गे पुल निर्माण भएपछि अहिले यहाँका नागरिकलाई कमला नदिको अवरोध छिचोल्न सहज भएको छ। अहिले मोटरसाइकल चालक र पैदल यात्रुहरुले यो पुलबाट वारपार गर्ने गरेका छन्।
धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका—१३ मलहनियाँलाई जोड्न कमला नदीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो। अहिले पुल हेर्नका लागि मात्रै पनि यहाँ दैनिक सयौँ मान्छे आउने गरेका छन्।
समयअगावै बन्यो पुल
नेपालकै लामो भनिएको यो पुल सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरअन्तर्गत निर्माण भएको हो। विसं २०७८ फागुन २७ गतेको बोलपत्रअनुसार सपना, उमा एण्ड कम्पनी, थानी जेभी कन्सट्रक्सन बतीसपुतली काठमाडौँले यो पुल निर्माण गरेको थियो।
कम्पनीसँग २०७९ असार ४ गते भएको ठेक्का सम्झौताअनुसार २०८१ असारमसान्तसम्म पुल निर्माण गरिसक्नु पर्ने शर्त थियो। सोहीअनुसार २०७९ मङ्सिर २ गतेदेखि पुल निर्माण सुरु गरेको कम्पनीले सम्झौता अवधिभन्दा छ महिना अगावै सम्पूर्ण कार्य सम्पन्न गरिएको कम्पनीका सब इन्जिनीयर उपेन्द्र देवकोटाले जानकारी दिए।
रु २१ करोड ५० लाख १० हजार सात सय लागत रहेको सो पुललाई नेपालकै लामो पुल भनेर दाबी गरिएको छ। यो पुल १ हजार ५००.४४ मिटर लामो र १.२ मिटर चौडाइ छ।
यसअघि सबैभन्दा लामो भनिएको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित महाकाली नदीमाथि बनेको दोधारा चाँदनीको झोलुङ्गे पुलको लम्बाई एक हजार चार सय ५३ मिटर लामो छ।
यस्तै पुलको भार क्षमता ५४० मेट्रिक टन रहेको निर्माण कम्पनीका सब इन्जिनीयर देवकोटाले बताए। उनका अनुसार पुलमा तीन हजार आठ सय ८६ पैदल यात्रीको भार क्षमता रहेको छ।
कठाल मल्हनिया मल्टी स्पान झोलुङ्गे पुल सिरहा धनुषा नाम दिइएको यो पुलका लागि ३४ करोड बजेटको व्यवस्था भए पनि सार्वजनिक बोलपत्रको प्रकृयाबाट १९ प्रतिशत घटीमा निर्मण कम्पनीले ठेक्का लिएको थियो। त्यसबाहेक, बृज डिभिजनले पुलमा लाग्ने तीन करोड बराबरको लट्ठा छुट्टै निर्माण उपलब्ध गराएको देवकोटाको भनाइ छ।
पुलकै प्राविधिक सरोज खड्काले कम्पनीको निर्देशनअनुसार दिनरात नभनेर काम गर्दा सम्झौता अमयावधिभन्दा अगावै पुल निर्माण सकिएको बताए उनी भन्छन्, ‘पुल नहुँदा यहाँका नागरिकले भोगिरहेको समस्या देख्यौँ। त्यसबाट चाँडै छुटकारा दिने सङ्कल्पअनुसार निर्माणमा संलग्न हामीहरु सबैले चाडवाड, झरी बादल, दिनरात केही नभनी काममा खटियौ। त्यसैको परिणाम हो यो। अहिले स्थानीयहरुको खुसी देखेर हामीलाई ठूलो आत्मसन्तुष्टि भइरहेको छ।’
पुलको परिकल्पनाकारमध्येका इञ्जिनीयर विनोदकुमार मण्डलले पुल महेन्द्र राजमार्गको मात्रै नभएर हुलाकी राजमार्गअन्तर्गतको कमला पुलको पनि विकल्प भएको बताए। पुल निर्माणका लागि स्वयंसेवकको रुपमा सहयोग गरिरहेका मण्डलले भने, ‘धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माणाधीन कमला पुल अपलत्र छ। नागरिकसँग अर्को सहज विकल्प थिएन। अब यो पुल नै दुई जिल्लाका लाखौं नागरिकका लागि विकल्प बनेको छ।’
हुलाकी सडकमा निर्माण गरिएको कमला पुल सञ्चालन नहुँदै भासिएपछि सिराहाबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको प्रदेशको राजधानी जनकपुरधाम पुग्न पूर्व–पश्चिम राजमार्ग तथा भारतको जयनगर हुँदै जानुपर्ने बाध्यता हटेको इन्जिनीयर मण्डलले बताए झोलुङ्गे पुल निर्माण भएसँगै दूरी छोटिएपछि सिराहाको मल्हनिया, माडर, पटेर्वा, गम्हरिया र पूर्वी धनुषाको पतनुका, बनरझुल्ला, खजुरी, चन्हा, महुवा, बलहा, कठाल, सघारा र माचीझिटकैयाका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको छ।
धनुषाको सबैला नगरपालिकाअन्तर्गत पटेर्वा र सिरहाको कल्याणपुर नगरपालिकाअन्तर्गतको चिकना जोड्ने कमला नदीको पक्की पुलको शिलान्यासको अवसर पारेर यसै महिना यस पुलको पनि उद्घाटन गराउने कार्यक्रम रहेको बताइएको छ।
‘भारत पुग्नुपर्ने बाध्यता हट्यो’
धनुषाबाट सिरहा र सिरहाबाट धनुषा अर्थात् प्रदेश राजधानी जनकपुरधाम पुग्न महेन्द्र राजमार्ग या त भारतको जयनगर पुग्नुपर्ने भएकाले अधिकांश नागरिकले यही बाटो प्रयोग गर्छन्। तर यहाँ न मोटर गुड्ने पक्की पुल छ न त विकल्प नै थियो। यो बाटो प्रयोग गर्दा करिब ६० किलोमिटर दूरी छोटिन्छ। अरु बाटो प्रयोग गर्दा ८७ किलोमिटर लामो दूरी पार गरेर दुवै जिल्लाका सदरमुकाम पग्नुपर्छ।
यो झोलुङ्गे पुलले आफ्नै प्रदेश राजधानी जनकपुरधाम पुग्न भारत भएर जानुपर्ने र त्यहाँ जाँदा भोग्नुपरेको सास्तीबाट आंशिकरुपमा भए पनि छुटकारा मिलेको छ। ‘राजमार्गको बाटो जाँदा धेरै दूरी पार गर्नुपर्छ। भारतीय बाटो प्रयोग गर्दा समयको बर्बादी त थियो नै भारतीय पक्षबाट अपमान पनि भोग्नुपर्ने समस्याको अन्त्य भएको छ’, इञ्जिनीयर मण्डलले भने।
शिक्षा र स्वास्थ्यमा पहुँच बढ्ने
पुल निर्माणले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच बढ्ने प्रादेशिक अस्पताल सिरहामा कार्यरत अर्थोसर्जन डा.रवि श्रीवास्तव बताउँछन्। लामो दूरीका कारण यसअघि स्वास्थ्योपचारका लागि जनकपुरधाम नपुगेर कोशी प्रदेशको बिराटनगर पुग्ने गरिएकामा अब त्यो बाध्यता हट्ने विश्वास जागेको उनीले बताए
त्यसैगरी जनकपुरधाम टाढा भएकाले धनुषाको जनकनन्दनी र कमला नगरपालिकाका कठाल, उदहा, सघारा, लगमालगायतका विद्यार्थीहरु सिरहामा पढ्दै आएका थिए। तर पुलको अभावमा निकै समस्या थियो।
‘जनकपुरधाम टाढा भएकाले यहाँका विद्यार्थीहरु प्राथमिक शिक्षादेखि उच्च शिक्षा पढ्नै सिरहा नै जाने गर्छन् तर पुल नभएका कारण निकै सास्ती थियो। अब केही हदसम्म समस्या समाधान भएको सिरहा नगरपालिका–७ का शिक्षक जयचन्द्र यादवले बताए
बजारीकरणमा टेवा पुग्ने
त्यस्तै पुल निर्माणपछि यस क्षेत्रका किसानलाई कृषिउपजको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको धनुषा जनकनन्दनी गाउँपालिका–६ कठालका रामसेवक यादव बताउँछन्।
उनीले भने,’पुलको अभावले स्थानीयवासी किसानहरुलाई आवतजावतका साथै कृषिजन्य उत्पादन बजारमा पुर्याउन असहज भएको थियो। पुलको निर्माणसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणले व्यावसायिक कृषिप्रतिको आकर्षणसमेत बढाउनेछ।’
धनुषाको खजुरीमा रहेका ऐतिहासिक लक्ष्मीनारायण मन्दिर र सिरहामा रहेका मिथिलाका विभूति राजा सल्हेशको मन्दिरजस्ता पर्यटकीयस्थलमा पनि आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीय रामविनोद यादव बताउँछन्।
