काठमाडौं– नेपाली कांग्रेस आसन्न महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेश गर्ने भएको छ। नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुने बैठकमा उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको उक्त प्रस्ताव पेश गरिनेछ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बुधबार सानेपा स्थित पार्टीको मुख्यालयमा पत्रकारसम्मेलन गरेर आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव बैठकमा पेश गरिने जानकारी दिए।
उनका अनुसार बैठकमा छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रस्ताव पेश गर्नेछन्। थापाले सांगठानिक र शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेश गर्ने तयारी गरेका छन्। महासमितिमा छलफल गरिने यी तीन प्रस्ताव बिहीबार सानेपामा बस्ने केन्द्रीय समितिले पारित गर्नेछ।


