काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावले क्रियाशील सदस्यता खारेज गर्न उद्यत रहेको टिप्पणी गरेका छन्।
बिहीबार महामन्त्री थापाले पेस गरेको प्रतिवेदनमाथि शुक्रबार केन्द्रीय समिति बैठकमा टिप्पणी गर्दै बस्नेतले अमेरिकी व्यवस्था लाद्न खोजिएको समेत टिप्पणी गरेका छन्।
‘अब पार्टीले नेपाली कांग्रेसको क्रियाशील सदस्यताको व्यवस्था खारेज नै गर्न खोजेको हो?’ बस्नेतको भनाइ थियो, ‘प्राइमरी इलेक्सन नेपाली मौलिकतमा आधारित नभएकाले अमेरिकी व्यवस्था साभार गर्न खोजिएको देखिन्छ।
युथ कांग्रेसलाई विधानले नचिन्ने बताएका उनले भने, ‘पार्टीको विधानले युथ कांग्रेस चिन्दैन। युथ कांग्रेस भनेको के हो?’
तरुण दलका पूर्वअध्यक्ष समेत रहेका बस्नेतले भने, ‘कतै २०१० सालमा महामानव वीपी कोइरालाले कलिलो प्रजातन्त्रको रक्षाका लागि गठन गरिएको नेपाल तरुण दललाई घाँटी निचोर्ने काम त भएको होइन? तरुण दलको तदर्थमै चलाउनुको भित्री रहस्य कहीँ यही युथ कंग्रेस त होइन?’
महाधिवेशनमा स्वतः प्रतिनिधि हुने व्यवस्था अन्त्य गर्न केन्द्रीय सदस्य, सांसदलगायत वडाबाट निर्वाचित हुनुपर्ने प्रस्ताव छलफलका लागि पेस गरेका छन्।
महामन्त्री थापाले छलफलका लागि प्रस्तुत गरेको प्रस्तावमा सबै तहमा सभापतिसहित केही पद निर्वाचित गर्ने र बाँकी सदस्य मनोनित गर्ने प्रस्ताव राखेका छन्।
‘यसमा कस्तोलाई योग्यता पुगेको मान्ने? पार्टी सदस्यता योग्यता पुगेको भनेको के हो? सबै क्रियाशील सदस्यहरुबाट चुनिएका साथीहरु के अयोग्य नै भन्न खोज्नुभएको हो महामन्त्रीज्यू?’ उक्त प्रस्तावप्रति बस्नेतको प्रश्न छ।
विधानले परिकल्पना नगरेको विधान अधिवेशनको विषय उठाएको भनेर पनि उनले आपत्ति जनाएका छन्। ‘केही समय पछाडि हाम्रो महासमिति बैठक जहाँ हुँदैछ, त्यहाँ नै एमाले जे गर्यो, त्यही कांग्रेसले अपनाउन जरुरी छ र? के कांग्रेसको विधान पूर्ण असफल भएकै हो र?’ बस्नेतले भनेका छन्।
प्रतिवेदन मिडियामा आएकोप्रति पनि उनले बैठकमा असन्तुष्टि व्यक्त गरेका छन्।
यस्तो छ बस्नेतको धारणा
पार्टीको महासमिति बैठकको पूर्वसन्ध्यामा भइरहेको यस केन्द्रीय समितिको बैठकको पहिलो दिन महामन्त्री गगन थापाज्यूले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ।
उक्त प्रतिवेदन हेर्दा कांग्रेसलाई अर्को कुनै पार्टीमा रुपान्तरण गर्न लागेको हो कि भन्ने भान मजस्तै अन्य केन्द्रीय सदस्य साथीहरुलाई लागेको होला भन्ने मेरो विश्वास छ।
प्रतिवेदनको पेज नम्बर ३२ को बुँदा नम्बर १८ मा ’युवासँग कांग्रेस‘ मा युथ कांग्रेस, उद्यमशील कांग्रेस उल्लेख छ। तर, पार्टीको विधानले युथ कांग्रेस चिन्दैन। युथ कांग्रेस भनेको के हो? कतै २०१० सालमा महामानव वीपी कोइरालाले कलिलो प्रजातन्त्रको रक्षाका लागि गठन गरिएको नेपाल तरुण दललाई घाँटी निचोर्ने काम त भएको होइन ? तरुण दलको तदर्थमै चलाउनुको भित्रि रहस्य कहीँ यही युथ कंग्रेस त होइन ?
प्रतिवेदनको पेज नम्बर ३६ मा बहसका लागि प्रस्तावित विषयहरुको बुँदा नम्बर १ मा सदस्यतामा स्वतः प्रतिनिधि हुने व्यवस्था अन्त्य गर्ने, केन्द्रीय सदस्य, सांसदलगायत विभिन्न जिम्मेवारीमा रहेका सबै अनिवार्य रुपमा तल्लो तहबाट अधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने उल्लेख छ। यो कुरा पदाधिकारीहरुमा लागु हुने कि नहुने? हुने भए यसमा पदाधिकारीहरु भनेर किन लेखिएन? कि लेख्न छुटेको हो?
महामन्त्रीज्यूले पेश गर्नुभएको प्रतिवेदनको पाना नम्बर ३५ मा वडादेखि जिल्ला तहसम्म जुन तहका लागि नेतृत्व छनौट गर्ने हो, मताधिकारका लागि योग्यता पुगेका पार्टी सदस्यको प्रत्यक्ष निर्वाचनबाट सो तहको सभापति र अन्य केही पद मात्र निर्वाचित गर्ने, बाँकी पद पार्टी सदस्यहरुबाट मनोनयन गर्ने भनिएको छ।
यसमा कस्तोलाई योग्यता पुगेको मान्ने? पार्टी सदस्यता योग्यता पुगेको भनेको के हो? सबै क्रियाशील सदस्यहरुबाट चुनिएका साथीहरु के अयोग्य नै भन्न खोज्नुभएको हो महामन्त्रीज्यू? अब पार्टीले नेपाली कांग्रेसको क्रियाशील सदस्यताको व्यवस्था खारेज नै गर्न खोजेको हो?
यस्तै त्यो प्रतिवेदनको पाना नम्बर ३७ मा प्राइमरी इलेक्सन को प्रस्ताव गर्नुभएको छ। प्राइमरी इलेक्सनको नेपालीकरण के हो? नेपालको लोकतन्त्रको आफ्नै मौलिकता छ। हामीले अमेरिकी व्यवस्थालाई साभार गर्न लागेका हौं र?
महामन्त्रीज्यूबाट निकै फूलबुट्टा पार्न खोजिएको यो प्रतिवेदनमा १५औं महाधिवेशनको कार्यतालिकामा विधान महाधिवेशन २०८१ असोजमा गर्ने भन्नुभएको छ। परिकल्पना नै नगरेको विधान अधिबेशन भनेको के हो ? केही समय पछाडि हाम्रो महासमिति बैठक जहाँ हुँदैछ, त्यहाँ नै एमाले जे गर्यो, त्यही कांग्रेसले अपनाउन जरुरी छ र? के कांग्रेसको विधान पुर्ण असफल भए कै हो र?
महामन्त्रीको प्रतिवेदनले सम्पूर्ण केन्द्रीय सदस्य र ती तमाम महाधिवेशन प्रतिनिधिहरुले दिएको म्यान्डेटलाई के लात हानेको हो?
महासमिती बैठकमा महामन्त्रीद्वारा प्रस्तुत हुने सांगठनिक प्रस्ताव छ्याप्छ्याप्ती मिडियामा छताछुल्ल कसरी हुन्छ? हामी केन्द्रीय सदस्यलाई गोप्य भनेर बाँड्ने अनि बैठक हुनुअघि नै मिडियामा पठाउने काम कसले गर्छ? पार्टीको बैठक प्रत्यक्ष प्रसारण गरौं भन्दा गोप्यता भएन भनेर स्यालहुँइ्या गर्ने अनि गोप्य गरौं न त भन्दा आफू अनुकूल समाचार लेखाउन मिडियामा पठाउने? यो कस्तो खाले प्रवृति हो? यसमा सांगठनिक प्रतिवेदनले के भन्छ? के यसले हाम्रो भावी रणनीति र गोप्नियता कायम हुन्छ।
जितजंग बस्नेत
केन्द्रीय सदस्य
नेपाली कांग्रेस
सानेपा, ललितपुर
