काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सनातन हिन्दु राष्ट्रका पक्षामा पूरक प्रस्ताव पेश भएको छ। शुक्रबार पार्टी मुख्यालय सानेपामा जारी बैठकमा २२ जना केन्द्रीय सदस्यले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेस गरेका हुन्।
कांग्रेसजस्तो व्यापक जनआधारमूलक प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किराँत धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पुरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति गम्भीर बन्दै महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दु राष्ट्रका पक्षमा दृढतापूर्वक उभिनुपर्ने उनीहरुको धारणा छ।
पूरक प्रस्तावमा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादवले हस्ताक्षर गरेका छन्। यस्तै केन्द्रीय सदस्य नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा. डिला संग्रौला बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि प्रस्तावमा हस्ताक्षर गरेका छन्।


