काठमाडौँ- नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न माग गरेको छ। एमाले सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका हुन्।
डेढ महिना पहिले दुई जना युवाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेपछि एमाले सचेतक बर्तौलाले यस्तो माग अघि सारेका हुन्।
मन्त्री ज्वालाई पदबाट बरखास्त गरी र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने उनको माग छ।
‘यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाँही उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्वीकार्य हुने अवस्था रहँदैन,’ उनले भने, ‘त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घन्टे परीक्षामा पर्नुभएको छ। हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ।’
यस्तै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ। आयोगको प्रतिवेदनले मन्त्री ज्वालालाई दोषी करार गरेपछि एमाले विद्यार्थीले यस्तो माग अघि सारेका हुन्।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उन्मुक्ति दिने गरी प्रतिवेदनलाई मन्त्रालयको दराजमा मात्र नथन्काउन तथा यस प्रकारका घटनालाई गम्भिरतापुर्वक लिन गठबन्धन सरकारलाई चेतावनी समेत दिन चाहन्छौँ। दोषीहरु उपर कारबाही नगरिए अनेरास्ववियु सरकारको दण्डहीनतालाई प्रश्रय दिने रबैयाविरुद्ध कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछ।
भाषा परीक्षामा सहभागीका लागि फारम भर्न पाउनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन गरेका थिए। प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएको थियो।
उक्त घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्वन्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग बनाइएको थियो। आयोगले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो। मन्त्री श्रेष्ठले प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने दाबी गरेका थिए।


