काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत लिने भएका छन्। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि यादवले आव विश्वासको मत लिने भएका छन्।
मधेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९-९ सांसद छन्।
लोसपा संसदीय दलका नेता अभिराम शर्मा महोत्तरी जिल्ला अदालतबाट जन्मकैद सजाय पाएर निलम्बित छन्। राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् भने १ जना स्वतन्त्र सांसद रहेका छन्।
मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्दै आए पनि केन्द्रीय गठबन्धनका कारण प्रदेशमा पनि कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने भएका छन्। ४ पार्टीले समर्थन गर्दा पनि विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई केही संख्यामा सांसद चाहिने छन्।
नेपाली कांग्रेसका २२ र अन्य ३ दलका समान ९ सिटका दरले २७ सिट गरी जम्मा ४९ सिट मात्र उनको पक्षमा देखिएको छ। अझै मुख्यमन्त्रीको विश्वासको मत लिन ५ सिट आवश्यक पर्छ। अन्य साना दलहरु राप्रपा, नेसापा, नागरिक उन्मुक्ति र १ जना स्वतन्त्रलाई विश्वासमा लिँदा पनि १ सिट अपुग हुन्छ।
जसपाबाट मुख्यमन्त्री बनेका यादवले पद सम्हालेयता आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्। उनले आफ्नो एकवर्षे कार्यकालमा उपलब्धिमूलक काम गर्न नसकेको आरोप छ। त्यही कारण अन्य दलले मुख्यमन्त्री फेर्नुपर्ने भन्दै केन्द्रमा लबिइङ गर्दै आएका छन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेशमा ६ वर्षदेखि जसपा नेतृत्वको सरकार रहेकाले परिवर्तन आवश्यक रहेको बताउँछन्। तर, तत्काल केन्द्रीय गठबन्धन अनुरूप मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने सहमति भएको उनले बताए।
जनमतले छाडेका दुई मन्त्रालय कांग्रेस र माओवादीलाई दिने सहमतिमा दुवै दलले विश्वासको मत दिने सहमति भएको हो।


