काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर दोषी माथि कारबाही गर्ने बताएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा दाहालले बालकुमारी घटनामा सरकार गम्भीर रहेको बताएका हुन्। जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने उनको भनाइ थियो।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको थियो। घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई जिम्मेवार मानिएको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका विपक्षी दलले ज्वालाको राजिनामा मागेका थिए।
बालकुमारी घटनामा सरकार गम्भीर रहेको बताएका प्रधानमन्त्रीले घटनामा संलग्नहरुलाई निलम्बन गर्नुका साथै छानबिन प्रक्रिया अगाडि बढाएको जिकिर गरे। ‘छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो। जाँचबुझ आयोगको प्रतिनवेदन अहिलेसम्म मैले हरेको छैन। आज क्याबिनेट बस्दैछ, अध्ययन गरेपछि कारबाही गरिन्छ,’ उनले भने।


