काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसपटक कुनै पनि बहानामा भाग्ने छुट नभएकाे बताएका छन्। आइतबार प्रतिनिधिसभामा जारी प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा उनले प्रचण्ड यसअघि पनि दुई-दुई पटक प्रधानमन्त्री भइसकेकाले यसपटक यो वा त्यो निहुँमा भाग्ने छुट उनलाई नभएको बताएका हुन्।
थापाले मुलुकको अर्थतन्त्र, बजेट खर्च र राजस्व सङ्कलनबारे प्रश्न उठाउँदै चालू आर्थिक वर्षको ७ महिनामा सरकारको खर्च र राजस्व सङ्कलनको स्थितिमाथि ध्यानाकर्षण गराए।
‘आर्थिक वर्षको ७ महिना बितिसक्दा समेत लक्षित राजस्वको ४० प्रतिशत उठ्न सकेको छैन। खर्च पनि ३५ प्रतिशत कट्न सकेको छैन। यस्तो अवस्थामा ४–५ महिनामा बाँकी राजस्व उठ्ने र तोकिएको खर्च हुने त्यस्तो के आधार छ?,’ उनले प्रश्न गर्दै भने, ‘बाँकी समयमा तोकिएको खर्च र राजस्व उठ्ने गरी प्रभावकारी काम गर्ने त्यस्तो खास योजना सरकारले के ल्याउँदै छ? यदि छ भने के छ? छैन भने किन छैन? मुलुकको आर्थिक स्थिति गम्भीर छ। वित्तीय स्थिति शिथिल छ। विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढ्ने बाहेक अन्य आय स्रोत बढेको छैन। र, पनि सरकार भनिरहेको छ- रेमिट्यान्स बढ्यो। खास रेमिट्यान्स बढ्नुमा के कारण छ? जुन सरकारले बारम्बार भनिरहेको छ।’
अर्थतन्त्रको सुधारका खातिर सरकारले खास काम गर्न नसकेको उनको भनाइ थियो। थापाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र सुधारका लागि राजस्व र खर्च वृद्धिका लागि सरकार गम्भीर भएर लागिरहेको बताएका छन्।


