काठमाडौं- नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका छन्।
उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेको लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित भएका हुन्।
महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले ताली बजाएर अनुमोदन गरेको हो।
महामन्त्री थापाले पेश गरेको सांगठानिक प्रस्तावमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने विषय उल्लेख छ।
‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ- हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ थापाले पेस गरी पारित भएको प्रस्तावमा उल्लेख छ, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्नेछौँ।’


