काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको पहलमा एउटा पनि भ्रष्टाचारी नउम्कने कानुन बनाउनु पर्ने बताएका छन्। ललितपुरको गोदावारीमा महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन्।
उनले आगामी निर्वाचनको चिन्ता गर्नुभन्दा पनि अहिले सरकारमा हुँदा काम गर्नुपर्ने कामका विषयमा चिन्ता गर्नुपर्नेसमेत उल्लेख गरेका छन्।
‘भ्रष्टाचारीहरु एउटा पनि नउम्कियोस्, ठूला माछाहरु समातियोस्, यसका लागि कानून बनोस्, कानून बदलोस्,’ उनले भने, ‘०४६ पछि प्रत्येक सार्वजनिक जीवनमा बसेको मान्छेहरुको सम्पत्ति छानबिन होस्। त्यो कानून कांग्रेसको पहलमा बनाउनुपर्नेछ।’
उनले आफूहरुमा पनि दाग लागेको समस्या देखाएर मात्रै नभएर समाधान गर्नुपर्ने बताए।
‘मजस्तो सांसददेखि जिम्मेवारीमा रहेका सबैले रिपोर्ट देखाउनुपर्छ। काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔं, दाग लागेको मन्त्रीलाई घर पठाऔं, अनि काम गरेर देखाऔं,’ उनले थपे, ‘काम गर्न नसक्ने वडाध्यक्षलाई टिकट दिनु हुँदैन। भ्रष्टाचारमा मुछिएको व्यक्ति कांग्रेसले वरिपरि राख्दिनँ भन्न सक्नुपर्छ।’
उनले संगठनको अनुशासन उल्लंघन गर्नेलाई १० वर्ष पार्टीबाट निष्काशन गर्ने आँट गरे चुनावमा कसैसँग कुम जोड्न नपर्ने उल्लेख गरे।


