काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन भएको छ। किर्तिपूर स्थित त्रिविको हलमा भएको बन्दसत्रबाट नयाँ नेतृत्व चयन भएको हो।
‘विप्लव’ निकट विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन भएको एक दिन वित्न नपाउदैँ नयाँ नेतृत्व चयनप्रति असन्तुष्टी छताछुल्ल भएको छ।
संगठनकी छात्रा विभाग प्रमुख तारा संज्यालले सामाजिक सञ्जाल फेसबुकबाट नेतृत्व प्रति कडा आक्रोस पोखेकी छिन्। पार्टी प्रवक्ता प्रकाण्ड सीका पुत्र नरेन्द्र सीको नेतृत्वमा १ सय ८१ सदस्यीय नयाँ नेतृत्व चयन भएकाे छ। नयाँ कमिटी बनेपछि कमिटीमा रहेका अन्य केही पदाधिकारी प्रतिकाे असुन्तुष्टि उनले सामाजिक सञ्जाल मार्फत पोखेकी हुन्।
उनले पार्टीका नेता शिलु र संगठनका पूर्व अध्यक्ष प्रकाश शाहीलाई नेकपा कसैको बाउको बिर्ता नभएको भन्दै पार्टी र संगठनको लेटर हेडमा प्रा.लि. वा कम्पनी पनि लेख्न चुनौती दिएकी छन्। आर्थिक, साँस्कृतिक बिचलन भएका, कारवाहीमा परेका तथा लामो समय निलम्बित भएकालाई नेता मान्न नसकिने उनको भनाइ छ।
उनले नेतृत्वलाई भेट्न सिन्डिकेड लगाएर प्रा.लि जस्तो चलाएको भन्दै नेतृत्वमा रहेकाहरुमाथि आर्थिक तथा सांस्कृतिक विचलनको गम्भीर आरोप लगाएकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अति भो अब त सकिँदैन। आर्थिक हिसाबले कारवाहीमा परेकालाई नेता मान्न सकिँदैन। साँस्कृतिक विचलन भएका, कार्वाहीमा परि लामो समय निलम्बित भएकालाई नेता मान्न सकिँदैन। सिन्को नभाच्ने बर्षौ घरमा बस्ने, एक इकाईसम्म नबनाएकोलाई नेता मान्न सकिँदैन।
अरे तिम्रा बाउको बिर्ता हो यो पार्टी ? हाम्रो पनि ठूलो देन छ लगानी छ, जेल नेल भोगेको छौ, पुलिसका बुट खाएको छौ, यातना भोगेको छौ, कालो पट्टि हामिलाई बाधेको हो। पुलिसले नेतालाई भेट्न् नदिने ? महासचिव सिलु र प्रकाश शाहीको मात्र हुन् ? सिन्डिकेट लाउने ? प्रा. लि. कम्पनी लेख अब लेटरहेडमा। हुँदाहुँदा दुधको साची बिरालो राखिदिए।’
छात्रा विभाग प्रमुख संज्यालले आफुले नेताको चाकरी गर्न नसकेको, नेतालाई ठुला होटल तथा रेष्टुरेन्टमा खुवाउन नसकेको पनि बताएकी छिन्। उनले लेखेकी छन्, ‘साँच्चै म स्वीकार्छु काम गर्नै सकिएन। नेताको खुट्टा मालिस गर्न सकिएन। हदैसम्मको चाप्लुसी र चाकरी गर्न सकिएन। सुटबुट किन्देर गोजी भर्न सकिएन। बर्थडेमा केक लिएर घर जान सकिएन, रक्षा बन्धनमा राखी किनेर घरैमा गएर बाध्न सकिएन। ठमेलका ठूला–ठूला होटेलमा लिएर राख्न सकिएन। आफ्नो खास नेता बनाउन सकिएन। च्यानल भन्दा दायाँबायाँ गर्न सकिएन। लोकल मुर्गा र ब्रान्डेट रक्सी लियर दिन सकिएन।’
‘दाइ दिदी मात्र बनाउन सकिएन। बनाइयो त केवल संगठन बनाइयो। घर व्यबाहर लथालिङ बनाइयो। मधेस भने मधेस गैयो, तराई भने तराई गैयो, एससीसीको बिरोधमा घाइते बनियो, भुटानी शरणार्थी कान्डमा गिरफ्तार परियो,’ उनले अगाडि भनेकि छिन्, ‘दर्जनौ गिरफ्तार परियो, सयौं दिन हिरासत बसियो। बम बिस्पोर्ट लगायत दर्जनौं मुद्दा खेपियो।’
