काठमाडौँ- झापाको बालुवाटार काण्डका नामले चिनिने दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसहित १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको हो। आइतबार आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेता रेवतराज (गगन) पुरीसमेतको मिलेमतोमा २ लाख २ हजार २३६.२२ वर्गमिटर (२९ बिगाहा १७ कठ्ठा ४ धुर) सरकारी जग्गा गैरकानूनीरुपमा व्यक्तिको नाममा घुसाइ भ्रष्टाचार गरेकाले मुद्दा दर्ता गराइएको अख्तियारले जानकारी दिएको छ।
यो मुद्दामा २८ जना कर्मचारी छन् भने ३६ जना आफ्नो नाममा सरकारी जग्गा घुसाउने व्यक्ति छन्। यस्तै १०८ जनाले उक्त जग्गा किनेकाले उनीहरुबाट जग्गा जफत गर्न मागदाबी गरिएको छ।
यसरी गैरकानुनी तवरबाट सरकारी जग्गा व्यक्तिविशेषको नाममा दर्ता गराएको आरोपमा नापी कार्यालय झापाका कर्मचारीहरु १० जना छन्। यस्तै मालपोत कार्यालय दमकका ११ जना, नापी कार्यालय दमकका ७ जना सरकारी कर्मचारी हुन्।
उक्त जग्गाको न्यूनतम मूल्य ३४ करोड ६६ लाख ५४ हजार ८ सय ४९ रुपैयाँ हुन आउने भन्दै उक्त रकमलाई बिगो कायम गरी मुद्दा दर्ता गराइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गगन पुरी भनेर चिनिने रेवतराज पुरी यो मुद्दाका मुख्य अभियुक्त हुन्। आयोगले उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदारहरू देवकुमार पुरी, डिल्लीराम पुरी, देवरुपा पुरी, ममता पुरी घिमिरे, माया पुरी पाण्डे, कृष्णकुमार पुरी, प्रेमकुमार पुरीसमेतलाई प्रतिवादी बनाइएको छ।
कसले गरे कति भ्रष्टाचार?






यही काण्डमा मुछिएका नेकपा माओवादी केन्द्रका नेता पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भइसकेका छन्। माघ २८ गते आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले माओवादीका पुरीलाई दोषी ठहर गरेको हो।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पुरीमाथि दमक नगरपालिका–१३ को सरकारी जग्गा हडपेर अकुत सम्पत्ति कायम गरेको आरोप पुरी आरोप थियो।
विशेष अदालतको फैसला अनुसार पुरीको आयभन्दा व्यय ४ करोड रुपैयाँ बढी देखिएको ठहर गरेको छ। मुद्दामा पुरीसहित उनकी श्रीमती केशावती पनि दोषी ठहर भएकी छन्।
पुरीसहित ६ जनाविरुद्ध २१ माघ २०७७ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। ६ जनाविरुद्ध मुद्दा दायर भएकामा २ जना दोषी ठहर भएका हुन्।
गत निर्वाचनमा झापा ५ अन्तर्गत प्रदेशसभा (ख)मा नेकपा माओवादी केन्द्रले पुरीलाई उम्मेदवार बनाएको थियो। पुरी माओवादी अध्यक्ष पुष्पकमल दाहालनिकट मानिन्छन्।
पुरीविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सवा १२ करोड बिगो माग गर्दै विशेष अदालतमा २०७७ साल माघमा मुद्दा दायर गरेको थियो। पुरीमाथि विभागले १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो माग्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा विचाराधीन भएको अवस्थामै पुरीलाई टिकट दिएर माओवादीले पुरस्कृत गरेको थियो।
पुरीसँगै विभागले उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार र संगीता पुरीविरूद्ध पनि मुद्दा दायर गरेको थियो। तर गगन र केशावतीबाहेकका अभियुक्तलाई भने सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले सफाइ दिएको छ।
पुरीले २०६६ सालयता सरकारी जग्गा किर्ते गरी आफ्नो र आफन्तको नाममा ल्याएर बिक्री-वितरण गरेको आरोप छ।
‘झापाको बालुवाटार’ हडप्ने माओवादी नेता सम्पत्ति शुद्धीकरणमा दोषी ठहर


