काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक फेरि सारेको छ।
आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो। तर दिउँसो ३ बजे पनि बस्न नसकेपछि फेरि सारिएको छ।
३ बजेको बैठक पनि साँझ मात्र स्थगित गरिएको जानकारी दिइएको थियो। अब मंगलबार मात्र बैठक हुने प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
नेताहरुको कार्य विभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आइतबारका लागि निर्धारण भएको स्थायी समितिको बैठक मङ्गलबारसम्मका लागि सारिएको दाबी गरिएको छ।
आइतबार स्थायी कमिटी बैठक राखिएपनि त्यसलाई रद्द गरेर पदाधिकारी बैठक बनाइएको थियो। त्यसलाई अन्त्यमा अनौपचारिक बैठक बनाइयो।
पदाधिकारीको अनौपचारिक बैठकपछि स्थायी समितिको बैठक मङ्गलबार गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका इञ्चार्ज लगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका छन्।
‘पार्टी अध्यक्षले प्रदेशका इन्चार्ज लगायत नेताहरूको कार्यविभाजन आगामी अभियानलाई प्रभावकारी बनाउनेबारे प्रशिक्षण दिनुभएको छ। आवश्यक गृहकार्य गरेर पुनः मङ्गलबार बिहान ८:३० बजे बैठक बस्नेछ,’ प्रवक्ता सापकोटाले भने।
हालै विधान सम्मेलन समापन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालन लगायत विषयमा नियमित छलफल गरिरहेको छ।
तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए।


