काठमाडौं- भारतीय पर्यटकहरुले नेपालको फोनपेमा सिधै भुक्तानी गर्न मिल्ने भएको छ। भारतको फोनपे र भिम एपमार्फत नेपालको फोनपेमा विद्युतीय भुक्तानी गर्न मिल्ने भएको हो।
भारतीले फोनपे र भीम एपमार्फत् पठाएको रकम खल्ती हुँदै फोन पेमा पुर्याउन खल्तीले पुलको काम गर्ने भएको छ।
भारतीय पर्यटकले नेपालमा फोन पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्ने सेवा खल्तीले बुधबार लाइभ गरेको थियो।
खल्तीका निर्देशक अमित अग्रवालले केही समयभित्रै भारतका थप एपहरुमार्फत पनि नेपालमा सहजै क्यूआर भुक्तानी गर्न सक्ने व्यवस्था गरिने बताए।
अहिले भारतीयहरुले मात्रै नेपालमा क्यूआर भुक्तानी गर्न मिलेपनि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै नेपालीहरुले भारतमा गएर भुक्तानी गर्न मिल्ने बनाइने अग्रवालले जानकारी दिए।
नेपाल आउनुअघि भारतीयहरुले आफ्नो फोनपे र भिम एपमा इन्टरनेसनल युपीआई पेमेन्ट्स एक्टिभेट भने गराउनुपर्ने उनले बताए।
नेपाल र भारत अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच गत भदौमा सम्झौता भएको थियो।
गत जेठमा नेपाल-भारतबीच क्रसबोर्डर भुक्तानी सम्बन्धमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) बीच सम्झौता भएको थियो। अहिले प्राविधिक परीक्षण अन्तिम चरणमा पुगिसकेको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतसँग क्रसबोर्डर भुक्तानी एक-डेढ महिनामै सुरु हुने प्रतिक्रिया दिएका छन्।


