काठमाडौं- वोर्ल्ड कार अवार्डमा बीवाईडी शिर्ष तीनमा पर्न सफल भएको छ। फेब्रुअरी २६ मा भएको जेनेभा मोटर शोमा वोर्ल्ड कार अवार्ड २०२४ का लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको थियो। जसमा बीवाईडीको मोडल बीवाईडी सिल ‘वोर्ल्ड कार ओफ द इयर’ र बीवाईडी डल्फिन ‘वोर्ल्ड अर्बान कार’ श्रेणी अन्तर्गत शीर्ष तीनमा पर्न सफल भएका हुन्। बीवाईडीले ‘वोर्ल्ड कार अवार्ड‘ श्रेणीको शीर्ष तीनमा सुचिकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको छ।
विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्त्वपूर्ण पुरस्कारको रूपमा चिनिएको ‘वोर्ल्ड कार अवार्ड‘, ‘युरोपीयन कार ओफ द इयर’, र ‘नोर्थ अमेरिकन कार ओफ द इयर’ अत्यधिक रुपमा प्रशंसित छन्। विश्वमा अटोमोटिभ ओस्करको नाममा प्रसिद्ध भएको ‘वोर्ल्ड कार अवार्ड‘ विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा बिशेष चर्चा गरिने गरिन्छ। बीवाईडीको असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्याएको हो।
बीवाईडीका यी दुई मोडेलले आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबूत सुरक्षा विशेषताहरूको कारण २९ देशका १०० अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ। २०२३ मा बीवाईडी सिल र बीवाईडी डल्फिनले यूरो एनक्याप र एएनक्याप परीक्षणमा फाइभ स्टार रेटिङ प्राप्त गरेका थिए। यस्तै बीवाईडी सिललाई ‘युरोपीयन कार ओफ द इयर २०२४’ को अन्तिम चरणका लागि पनि नामांकित गरिएको थियो।
विद्युतीय सवारीसाधन क्षेत्रमा अग्रणीको रूपमा वीवाइडीले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै विश्वभरमा शीर्ष स्थान मात्र नभएर ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो। जुन चिनियाँ अटोमोटिभ निर्माताको लागि इतिहासकै ठूलो सफलता हो।
अहिलेसम्म बीवाईडीले ६ महादेशका ७० देशका ४०० भन्दा बढी शहरहरूमा प्रभावकारी उपस्थिति जनाएको छ।


