काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ महानगरपालिकाले नागरिकमाथि गरेको कुटपिटको भर्त्सना गरेको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद हरि ढकालले महानगरले फुटपाथ व्यवसायीमाथि ज्यादतीको विरोध गरेका हुन्।
शुक्रबारको बैठकमा उनले उक्त घटनाको छानबिन गर्न पनि माग गरे। महानगर प्रमुख बालेन्द्र साहकै गीतको सहारा लिएर सांसद ढकालले उनका क्रियाकलापमाथि कटाक्षेप गरेका थिए।
‘प्रकाश सपुतको गीत यो देश मेरो पनि हैन र भन्ने गीत सम्झन चाहन्छु। स्थानीय निकायको चुनावताका गरिबको चमेली बोलिदिने कोही छैन भन्ने गीत गुञ्जायमान भएको पनि सम्झन चाहन्छु,’ सांसद ढकालले भने, ‘अस्ति राती काठमाडौँ महानगरपालिकाले फूटपाथ व्यवसायीमाथि गरेको ज्यादतीको निन्दा गर्न चाहन्छौँ। सरकारलाई उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण गराउन चाहन्छौँ।’
यस्तै उनले भरतपुर भ्रमण वर्षका कार्यक्रमका विषयमा पनि विरोध गरेका थिए। उनले चितवन भनेको भरतपुर मात्र हो भन्ने जसरी प्रसार गरी भ्रमण वर्षका कार्यक्रम ल्याइएको बताए।
‘यही गरिमामाय सदनबाट एक वर्ष पहिले मैले चितवन भनेको भरतपुर मात्र पनि होइन है भनेर स्मरण गारएको थिएँ। तर आज चितवन भनेको भरतपुर मात्र हो भनेजस्तै गरी भ्रमण वर्ष उद्धाटन गरिएको छ,’ उनले भने।
दूध किसानको आन्दोलनका विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराएका थिए।
गाडीमा कोचेर पनि ‘निर्घात कुटेको’ महानगर भन्छ- प्रतिरक्षा मात्र हो


