चिनियाँ बैंकको शाखा स्थापनाका लागि चिनियाँ पक्ष सकारात्मक रहेको नेपाल चीन उद्योग बाणिज्य संघले जनाएको छ। नेपाल भ्रमणमा रहेको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)का उच्च अधिकारीहरुले नेपालमा चिनियाँ बैंकको शाखा खोल्न तयार भएको जानकारी गराएका थिए। नेपाल र चीनबीचको व्यापारमा भुक्तानीको समस्या रहेको भन्दै व्यवसायीले लामो समयदेखि चिनियाँ बैंकको शाखा स्थापनाका लागि माग गर्दै आएका थिए।
सीसीपीआईटीले नेपालसहित दक्षिण एसियाली मुलुकमा बैंकिङ सेवामा सहजीकरण गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ।
‘नेपालमा मात्र नभै दक्षिण एसियाभर नै चिनियाँ बैंकको सेवाका लागि माग भइरहेको छ’, सीसीपीआईटी उपाध्यक्ष झाङ साओगाङले सोमबार नेपाल चीन उद्योग वाणिज्य संघको कार्यक्रममा भने, ‘यसमा हामी गम्भीर छौं र हामीले अध्ययन पनि गरिरहेका छौं त्यसैले चाँडै नै यो विषय सकारात्मक रुपमा सम्बोधन हुनेछ भन्ने मलाई विश्वास छ।’
सीसीपीआईटीका उपाध्यक्ष साओगाङले चिनियाँ बैंकको सेवा विस्तार गर्नुपूर्व यस क्षेत्रको बजारको आकार, चीनसँगको आर्थिक कारोबारको माग तथा स्थानीय बैंकहरुसँगको सहकार्यजस्ता विषयमा अध्ययन भइरहेको जानकारी दिएका थिए। नेपाललगायत दक्षिण एसियामा व्यावसायिक सहकार्यको उच्च सम्भावना रहेकाले बैंकिङ सेवा विस्तारको विषयलाई आफूहरुले सकारात्मक रुपमा लिइरहेको उनको भनाइ छ।
छलफलमा नेपाली व्यवसायीहरुले चीनसँगको कारोबारमा भइरहेको भुक्तानीको समस्यालाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका थिए। सीसीपीआईटीको सात सदस्यीय टोलीको नेतृत्व गर्दै उपाध्यक्ष साओगाङले आइतबार काठमाडौं आएका हुन्। भ्रमण टोलीले चार दिन नेपालको व्यावसायिक संस्थासहित विभिन्न सरकारी प्रतिनिधिसँग भेटवार्ता गर्नेछ।
सीसीपीआईटीले नेपालसहित दक्षिण एसियाली मुलुकमा बैंकिङ सेवामा सहजीकरण गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ।
कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले कोभिडपछि सुस्ताएको नेपार चीनबीचको आर्थिक सम्बन्ध पछिल्ला दिनमा सुधार हुँदै गएको बताए। ‘चीनसँगको व्यापारिक सम्बन्धमा वृद्धि, चिनियाँ पर्यटकको संख्या बढ्दै गएको जस्ता घटना हाम्रा लागि सुखद् पक्ष हुन् अध्यक्ष तुलाधरले भने’, ‘हामी चीनसँग दिगो आर्थिक साझेदारी गर्न चाहान्छौं। यसका निमित्त चीन र नेपालबीच कनेक्टिभिटी बढाउनुपर्ने आवश्यकता छ। हामीले स्थलसँगै हवाई सम्पर्कमा पनि उल्लेख्य वृद्धि गर्नुपर्ने जरुरी देखेका छौं।’
सीसीपीआईटीका उपाध्यक्ष साओगाङले चीन नेपालको दोस्रो ठूलो आर्थिक साझेदार मुलुक रहेको स्मरण गर्दै लगानी र पर्यटनसँगै अन्य क्षेत्रमा पनि सहकायए गर्न सकिने धारणा राखेका छन। चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न आतुर रहेको र प्रस्तावित रेलमार्गबाट जोडिन सके लाभदायी सहकार्य हुने उनको भनाइ छ।
बीआरआईमार्फत दुई देशको व्यापारिक सम्बन्धमा गुणस्तरीय आयाम थप्न सकिने उल्लेख गर्दै उपाध्यक्ष साओगाङले आसन्न बीआरआई समिटमा नेपालको सक्रिय सहभागिताको अपेक्षा गरिएको बताए। चीनका विभिन्न सहरमा हुने एक्स्पोमा विश्वका गुणस्तरीय उत्पादन सहभागी हुने गरेको उल्लेख गर्दै नेपाली उत्पादकलाई पनि उत्प्रेरित गर्नसके चिनियाँ बजारमा नेपाली वस्तु स्थापित हुने उनको सुझाव छ।
नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले चीनले हालैमात्र पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई समावेश गरेको स्मरण गराउँदै यसबाट सहकार्यले नयाँ उचाई हासिल गर्ने धारणा व्यक्त गरे।
छलफलमा व्यवसायीहरु यमुना श्रेष्ठ, विक्रम पाँडे, सुदर्शन चापागाईं, बैंकर अशोक शेरचन लगायतले नेपाल र चीनबीचका व्यापार व्यवसायमा देखिएका समस्याबारे चिनियाँ पक्षलाई अवगत गराएका थिए। उनीहरुले स्थल नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनुपर्ने, नेपाली उत्पादन निकासीमा देखिएका समस्या हल गर्नुपर्ने तथा पोखरा र भैरहवा विमानस्थलबाट चीनमा विभिन्न सहरमा सिधा उडान गर्नुपर्ने सुझाव पनि दिएका थिए।


