काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा उथपुथल जारी रहने बताएका छन्। सोमबार दिउँसो काठमाडौंमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका हुन्।
‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ। मलाई घेरा हालेर सिध्याउने धेरैचोटि कोसिस भए प्रतिक्रियावादीबाट, तर म साथीहरूलाई भन्न चाहन्छु ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं,’ उनले भने।
उनले सत्ता समिकरणमा भएको फेरबदललाई निरन्तरतामा क्रम भंग गरेको बताए। माओवादी केन्द्र पार्टी निरन्तरतामा रमाएर बस्न नसक्ने जिकिर गरेका उनले भने, ‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन यो निरन्तरतामा क्रम भंग गर्दै नयाँनयाँ परिस्थित सिर्जना गर्दै अगाडि बढ्ने जात हो माओवादी।’


