काठमाडौं – काठमाडौंमा बैसाख ५ गते(आज)बाट एसीसी प्रिमियर कप सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार दिउँसो त्रिवी क्रिकेट मैदानमा नेपालले मलेसियाको सामना गर्नेछ। त्यस्तै समूह बी अन्तर्गतको खेलमा मुलपानी मैदानमा हङकङले सिङ्गापुरको सामना गर्नेछ।
उपाधि लक्ष्यसति प्रतियोगिताको लागि उत्रिएको आयोजक नेपालले पहिलो खेलबाटै जितको आशा राखेको छ। ‘हामीले गएको १५ दिनदेखि राम्रो अभ्यास गरिरहेका छौं। हामी भोलिको लागि तयार पनि छौं। एसिया कपमा पुग्ने अवसर छ र सबै टिमजस्तो हाम्रो लागि राम्रो एक्सपोजर हुनेछ,’ नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले भनेका छन्।
पछिल्लो समय नेपालको बलिङ अट्याक कमजोर देखिएको छ। क्यानले बलिङ प्रशिक्षक ल्याउने भने पनि ल्याएको छैन। तर रोहितले पछिल्लो अभ्यास राम्रो भएको र खेलमा त्यसको नतिजा देखिने बताएका छन्। उनले नेपाली बलरले अभ्यासमा सिकेको कुरालाई मैदानमा एक्सिक्युट गर्ने पनि बताएका छन्।
यता पहिलो खेल नेपालविरुद्ध खेल्न लागेको मलेसियाले पनि तयारी राम्रो गरेको बताएको छ। मलेसियाका कप्तान अहमज फैजले भने, ‘हामीले केही अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर आएका छौं। हामीले प्रतियोगितामा राम्रो फाइट दिनेछौं। हामी क्रिकेटको विकास गरिरहेको देश हो र हामी राम्रो प्रदर्शन गरेर समर्थकलाई खुसी बनाउन चहान्छौं।’
त्यस्तै, साउदी अरेबिया कप्तान शोएब अलीले आयोजकलाई धन्यवाद दिँदै भने, ‘हामीले पछिल्लो महिनाबाट तयारी गरिरहेका छौं। यो प्रतियोगिता हाम्रो लागि मूख्य प्रतियोगिता पनि हो। हामीले राम्रो तयारी गरेका छौं। हामी हरेक खेललाई एक एक गरेर लैजाने छौं। चारै खेलको लागि सकारात्मक छौं।’
प्रतियोगितामा १० टिम सम्मिलित रहेका छन््। टिलाई समान ५,५ देशको दुई समूहमा बाँडिएको छ। त्यसैले एक टिमले आआफ्नो समूहमा ४,४ खेल खेल्नेछन्। ति दुवै समूहका शीर्ष दुई टिमले सेमीफाइनल र सेमीफाइनलमा जित निकाल्नेले फाइनलमा स्थान बनाउनेछ।
यो प्रिमियर कपमा नेपाल समूह ए मा रहरेको छ। यो समूहमा नेपालसँगै साउदी अरेबिया ओमन, कतार र मलेसिया छन्। खेलअघि बोल्दै
ओमन कप्तान जिसन मक्सुदले एसिया कपको छनोट खेल्नु ठूलो कुरा रहेको बताए। उनले भने, ‘हामी बेस्ट टिमहरूविरुद्ध खेल्न गइरहेका छौं। हामी राम्रो प्रदर्शनको प्रयास गर्नेछौं। अकिब इलियास फर्किएका छन् र उनी नेपालमा राम्रो प्रदर्शन गर्छन् भन्ने लागेको छ।’ कतारका कप्तानले पनि हरेक खेललाई फरक फरक रुपमा लिएर राम्रो प्रदर्शन गर्दै जाने बताएका छन्।
प्रतियोगिताको लागि नेपाल आइपुगेको युएई कप्तान मुहम्मद वासिमले नेपालमा आउन पाउँदा धेरै खुसी रहेको प्रतियोगितालाई लिएर सकारात्मक रहेको बताएका छन्।
सिंगापुर कप्तान अमजद मोहोबुबले तयारी राम्रो रहेको बताए। ‘हामी फ्रेस टिम हो र प्रतियोगिताको लागि तयारी पनि छौं,’ उनले भने।


