काठमाडौँ- छिमेकी मुलुक चीनले नयाँ गठबन्धनसँग सहकार्य गर्न तत्पर रहेको बताएको छ।
नेपालमा समीकरण फेरिएर नयाँ गठबन्धन बनेको विषयलाई जानकारीमा राखेको उल्लेख गर्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले यस्तो बताएकी हुन्।
‘नेपालमा नयाँ सत्ता समीकरण बनेको र मन्त्रिपरिषद् पुनर्गठन भएको विषयलाई चीनने जानकारीमा राखेको छ। नयाँ सरकारसँग शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गर्न चीन तत्पर छ,’ नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिने उल्लेख गर्दै उनले भनिन्।
सरकारका दलहरू एकताबद्ध भएर राजनीतिक स्थायित्व ल्याउने आशासमेत उनले व्यक्त गरेकी छन्। ‘नयाँ सरकारले राजनीतिक स्थायित्व, आर्थिक वृद्धि तथा जनताको जीविकोपार्जनमा सुधार ल्याउने छन् भन्ने आशा लिएका छौं,’ उनले भनिन्।
आइतबार नेपालको सत्ता समीकरणमा फेरबदल भएको थियो। नवगठबन्धनका विषयमा प्रतिक्रिया दिने चीन पहिलो राष्ट्र बनेको छ।


