काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता प्राप्ती नभएको दाबी गरेका छन्। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धन बनाएका दिन आफू नमरुन्जेल उथलपुथल गराइरहने बताएका प्रचण्डले आफ्नो ध्येय सत्ता नभएको जिकिर गरेका हुन्।
प्रतिनिधि सभामा समय लिएर सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको जिकिर गरेका हुन्।
‘मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनका सबै घटकका तर्फबाट म सङ्कल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ।’
आफूले सरकारको गतिसँग असन्तुष्ट छु भनेर पटकपटक भनेको स्मरण गर्दै प्रधानमन्त्रीले आउँदा दिनमा सरकारका काम र परिणामबाट प्रमाणित हुने विश्वास व्यक्त गरे।
‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने? मैले दोस्रो विकल्प रोजेँ,’ प्रधानमन्त्री प्रचण्डले थपे, ‘त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्। अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ।’
गत सोमबार एमाले गठबन्धन बनाएपछि प्रतिक्रिया दिँदै सहिद प्रतिष्ठान नेपालकको कार्यक्रममा आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका थिए।
‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ। मलाई घेरा हालेर सिध्याउने धेरैचोटि कोसिस भए प्रतिक्रियावादीबाट, तर म साथीहरूलाई भन्न चाहन्छु ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं,’ उनले भने।
उनले सत्ता समीकरणमा भएको फेरबदललाई निरन्तरतामा क्रमभंग गरेको बताएका थिए।
माओवादी केन्द्र पार्टी निरन्तरतामा रमाएर बस्न नसक्ने जिकिर गरेका उनले भनेका थिए, ‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन यो निरन्तरतामा क्रम भंग गर्दै नयाँनयाँ परिस्थित सिर्जना गर्दै अगाडि बढ्ने जात हो माओवादी।’
